प्रतिनिधिसभाको छैठौँ अधिवेशन सुरु, वैकल्पिक विकास वित्त विधेयक पेस हुने
काठमाडौँ, १२ वैशाख । प्रतिनिधिसभाको छैठौँ अधिवेशनको पहिलो बैठक आजबाट प्रारम्भ भएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो । उहाँले यो अधिवेशन कानुन निर्माण र जनताका आकांक्षाहरूलाई सम्बोधन गर्न प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
“यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेट र अन्य कानुनहरू संसद्मा पेस गर्ने अपेक्षा छ,” सभामुख घिमिरेले भन्नुभयो, “संसद् जनताको आवाज उठाउने थलोका साथै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो । कानुन निर्माणमा हुने ढिलाइले नागरिकमा देखिएको असन्तुष्टिलाई यो अधिवेशनले चिर्न सक्नेछ ।” उहाँले पारदर्शिता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नेमा जोड दिनुभयो ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउनुभएको छ ।
साथै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम, सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरू अमृतादेवी अग्रहरी, डा. चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राईलाई मनोनयन गरिएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।