नेपाललाई पुनः विश्वकपमा पुर्याउनेछु– प्रशिक्षक स्टुवार्ट ल

प्रणीत
काठमाडौँ, १२ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार औपचारिकरुपमा नेपाली क्रिकेट टिमका प्रशिक्षक स्टुवार्ट ललाई सार्वजनिक गरेको छ । क्यानले एक महिनाअघि नै अस्ट्रेलियाली क्रिकेट प्रशिक्षक स्टुवार्ट ललाई नियुक्त गरेको थियो । यद्यपि उहाँ शुक्रबार रात मात्र नेपाल आएका हुन् । ल दुई वर्षका लागि नेपाली क्रिकेट टिमका प्रशिक्षक हुनेछन् ।
क्यानले लको प्रशिक्षकत्वमा नेपाली क्रिकेट टिम सही बाटोमा फर्कने अपेक्षा गरेको छ । आइसीसी डिभिजन लिग टुमा नेपाल अहिलेसम्म १२ खेलमा छ अङक मात्र बनाएर अन्तिमबाट दोस्रो स्थानमा छ । प्रशिक्षक लको सबभन्दा ठूलो जिम्मेवारी आइससी डिभिजन लिग टुको अङक तालिकामा माथि चढेर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु हुनेछ ।
५६ वर्षीय लले आफू हार्न मन नपराउने प्रशिक्षक हुँ भन्दै नेपाललाई आगामी टि२० विश्वकपमा चयन गराउने आप्mनो प्रमुख लक्ष्य हो, भने । ल भन्छन्– ‘जिम्मेवारी सहज छैन । चुनौती धेरै छ । तर म स्थापित टिममा भन्दा विकास हुने क्रममा रहेका क्रिकेट राष्ट्रसँग काम गर्न मन पराउँछु । नेपालका प्रतिभावान क्रिकेटरका साथै नेपालमा क्रिकेट प्रति लगाव र समर्थकका कारण मैले नेपालको प्रशिक्षक बन्न आवेदन दिएको हुँ ।’
नेपाली क्रिकेट टिमसँग लको पहिलो जिम्मेवारी आइसिसी विश्वकप लिग २अन्तर्गतको त्रिदेशीय शृङ्खला हुनेछ । सो शृङ्खलामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सको सामना गर्नेछ ।
हाइप्रोफाइल प्रशिक्षक
नेपालमा अहिलेसम्म आएका विदेशी प्रशिक्षकमध्ये पूर्व क्रिकेटरको रुपमा ल सबभन्दा हाइप्रोफाइल नाम पनि हो । उनले एक खेलाडीको रुपमा अस्ट्रेलियाका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेलेका छन् । सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा ल पनि टिममा थिए ।
आवेदन दिएका ७० जनालाई पछाडि पार्दै ल नेपालका प्रमुख प्रशिक्षक बनेका हुन् । गत फेबु्रअरीमा भारतका मोन्टी देसाईको कार्यकाल समाप्त भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद रिक्त रहेको थियो । देसाइको प्रशिक्षकत्वमा नेपालले गत वर्ष टि२० विश्वकपको यात्रा तय गरेको थियो । लले पनि अमेरिकालाई टि२० विश्वकपमा पुर्याएका थिए । लसँग श्रीलङका, बङगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको प्रमुख प्रशिक्षक भएर काम गरेको अनुभव छ । लले काउन्टी टिम मिडलसेक्सलाई प्रशिक्षण दिएका छन् ।
ललाई क्यानले साथ दिने
क्यानका सचिव पारस खड्काले नयाँ प्रशिक्षकलाई समय दिनुपर्छ र यसका लागि क्यानले पनि उनलाई साथ दिने बताए । सचिव पारसले नेपालजस्तो टिमसँग पहिले पनि काम गरसकेको र टिमसँग मिल्ने सक्ने खुबी भएकोले करी ७० जनाको आवेदनबाट ललाई चयन गरिएको जानकारी दिए । उहाँले आवश्यक परेमा प्रमुख प्रशिक्षक लसँग सल्लाह गरेर सहयोगी प्रशिक्षक पनि आवद्ध गर्ने पनि बताए ।