म्याग्दीमा घरायसी विवादमा चिर्पटले हानेर श्रीमतीको हत्या

म्याग्दी, १६ वैशाख । म्याग्दीकाे बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले आज बिहान चिर्पट दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले चिर्पट दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा चिर्पट दाउरा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।