डोल्पा कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, चार जना अझै बेपत्ता
सुर्खेत, १८ कात्तिक । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये थप दुई जना पक्राउ परेका छन् । उनीहरू पक्राउ परेसँगै हालसम्म चार जना नियन्त्रणमा आएका छन् भने चार जना अझै बेपत्ता छन् ।
बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयो ।
यसअघि मंगलबार रुकुम पश्चिमबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना पक्राउ परेका थिए ।
अझै फरार रहेकामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी छन् ।
गत कात्तिक १४ गते राति कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए ।
