एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ, ८९ लाखभन्दा बढी कारोबार

काठमाडौं, १९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अनलाइन सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका भारतको बिहार राज्य, भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएल २०२६ मा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिन्हालाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *