रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते
काठमाडौँ, १८ कात्तिक । रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति सवा ९ बजे यादवमाथि गोली प्रहार भएको हो ।
गोली लागेर यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी छवटा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ । यादवमाथि कसले र किन गोली प्रहार गरेको भन्ने खुलेको छैन ।
