रौतहटमा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँ, १८ कात्तिक । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिकलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेपछि प्रहरीले गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक जाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलको झोला र ट्यांकीमुनि बनाइएको फल्स बटममा लुकाइएको ३० लाख रुपैयाँ र एउटा स्मार्टफोन फेला परेको थियो ।
रकमसहित पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण, फुलबरिया–१३ का ३० वर्षीय सनि कुमार जैसवाल छन् । प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको बताएका थिए ।
त्यसपछि प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले उक्त व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको थियो । प्रहरीले पसल सञ्चालक ५१ वर्षीय शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद रकमको स्रोत र कारोबारबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
