जापानमा हुने एसियाली खेलकुदमा क्रिकेट समावेश
काठमाडौँ, वैशाख १७ गते । जापानको आइची–नागोयामा हुने एसियाली खेलकुदमा क्रिकेटलाई समावेश गरिने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाल (ओसिए)ले सन् २०२६ सेप्टेम्बर १९ दखि अक्टोबर ४ तारिखसम्म हुने आगामी एसियाली खेलकुदमा क्रिकेटले पनि प्रतिस्पर्धा गर्ने बताएको हो । ओसिएले बुधबार क्रिकेटका साथै मिक्स्ड मार्सल आर्ट्स दुवैलाई समावेश गर्ने निर्णय भएको जानकारी दियो ।
एसियाली खेलकुदमा क्रिकेट समावेश भएको यो चौथो पटक हो । यसअघि, सन् २०१० मा चिनको ग्वान्जाओ, सन् २०१४ मा दक्षिण कोरियाको इन्छन र सन् २०२३ मा चिनको हाङजाउमा भएको एसियाली खेलकुदमा क्रिकेट समावेश थियो । हाङजाउमा भारतले स्वर्ण, अफगानिस्तानले रजत र बङगलादेशले काश्य पदक जिते । त्यसबेला नेपाल, पाकिस्तान, माल्दिभ्स, मङ्गोलिया, हङकङ, जापान, काम्बोडिया, थाइल्यान्ड, मलेसिया, सिङगापुर र इन्डोनेसियाको पनि क्रिकेट प्रतियोगितामा सहभागिता थियो ।
सन् २०२८ मा लस एन्जल्समा हुने अोलम्पिकमा पनि टि२० क्रिकेट खेलाइने निर्णय भइसकेको छ । सो अोलम्पिकमा पुरुष र महिला वर्गमा छ–छ टिमको मात्र सहभागिता रहनेछ ।