सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं, १७ वैशाख । सेयर बजार नेप्से परिसूचक ८.१४ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से २६२३ अंकमा झरेको छ।
दिनभरको कारोबारमा परिसूचक अधिकतम २६४२ अंकसम्म पुगेको थियो। बजार परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।
अघिल्लो दिन ७ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकाेे छ । आज कारोबार भएका कम्पनीहरूमध्ये १०७ वटाको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ ।
एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। अधिकांश समूहगत सूचकहरूमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा तथा अन्य समूहका सूचक घटेका छन्। यद्यपि, जलविद्युत, लघुवित्त र व्यापार समूहका सूचक भने सामान्य बढेका छन्।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। यसैगरी, विन नेपाल लघुवित्तको ८.७७ प्रतिशत, सिनर्जी पावरको ८.३६ प्रतिशत, मातृभूमि लघुवित्तको ७.३१ प्रतिशत, रिडी पावरको ७.२४ प्रतिशत तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत ले मूल्य वृद्धि भएको छ।