च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानको बराबरी

बार्सिलोना, १८ वैशाख । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बिहिबार स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई ३–३ ले बराबरीमा रोकेको छ । च्याम्पियन्स लिग सेमिफइनलमा यति धेरै गोल भएको यो सन् १९९९ अप्रिलपछि पहिलो पटक हो । सो समय बायर्न म्युनिख र डायनामो किएभले पनि ३–३ को बराबरीमा खेलेका थिए ।

सो खेल शानदार गोलहरुका कारण पनि चर्चामा रह्यो । बार्सिलोनाका लामिने यमाल, इन्टरका मार्कस थुराम र डेन्जेल ड्रम्फिजले विश्व स्तरीय गोल गरे । बार्सिलोनाका राफिनाको मिसाइलजस्तो सशक्त प्रहार गोलपोस्टमा लागेर फर्केपछि भएको गोल पनि हेर्नलायक थियो ।

खेलको पहिलो मिनेटमै डम्फ्रिजको सहयोगमा थुरामले गोल गरी इन्टर मिलानलाई अग्रता दिलाएका थिए । खेलको २१ औँ मिनेटमा डम्फ्रिजले बाइसिकल किकमार्फत् इन्टरको अग्रता दोब्बर बनाए । बार्सिलोनाले तीन मिनेटपछि स्कोर २–१ मा झार्यो । १७ वर्षीय यमालले बार्सिलोनाका लागि आफ्नो एक सयौँ खेलमा शानदार गोल गरी आफ्नो क्लबलाई खेलमै कायम राखे । यमालले दुई डिफेन्डरलाई छलाएर बल दर्शनीय ढङगले गोलपोस्टमा छिराएका हुन् । खेलको ३८ औा मिनेटमा राफिनाले स्कोर २–२ पारे ।
खेलको ६३ औँ मिनेटमा डम्फ्रिजले कर्नरमा व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर पुन अगाडि भयो । तर एक मिनेटपछि नै इटालीका गोलरक्षक यान समरले आत्मघाती गोल गरेपछि खेल बराबर भयो । एजेन्सी