नीति तथा कार्यक्रम
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार निःशुल्क, एचपीभी खोप नियमित कार्यक्रममा
काठमाडौँ, १९ वैशाख । सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर रोगको उपचार सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । साथै, महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणाहरू गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालित स्वास्थ्य कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने र ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने पनि उल्लेख छ ।