इन्टर मिलान नाटकीय ढङ्गले बार्सिलोनलााई हराएर च्याम्पियन्स लिगको फाइनलमा

मिलान, २४ वैशाख । इटालीको इन्टर मिलानले बुधबार बार्सिलोनालाई च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा ४–३ ले हराएर उपाधि भिडन्तमा स्थान बनाएको छ । इन्टर मिलान कूल ७–६ गोल अन्तरले अगाडि बढेको हो ।

घरेलु मैदानमा भएको खेल इन्टर मिलानले अतिरिक्त समयमा जितेको हो । वैकल्पिक खेलाडी डेभिड फ्राटेसीले अतिरिक्त समयको ९९ औँ मिनेटमा गोल गरी इन्टर मिलानलाई नाटकीय जित दिलाए । इन्टर मिलान अब चौथो पटक च्याम्पियन्स लिग जितको एक कदम टाढा भएको छ । सन् २०२३ मा पनि इन्टर फाइनलमा पुगेको थियो । तर सो समय म्यान्चेस्टर सिटीले इन्टरलाई चौथो पटक उपाधि जित्न दिएन । इन्टर मिलानले यसपटक फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन अथवा प्रिमियर लिग क्लब आर्सनलमध्ये एकविरुद्ध खेल्नेछ ।

इन्टर मध्यान्तरसम्म २–० ले अग्रता बनाएर सहज जिततर्फ अग्रसर थियो । इन्टरका लागि लाउटारो मार्टिनेजले पहिलो गोल गरे । त्यसपछि लाउटारोले नै जितेको पेनाल्टीलाई सदुपयोग गर्दे हाकन चालहोन्गलुले इन्टरको अग्रता दोब्बर बनाए । मध्यान्तरपछि बार्सिलोनाले शानदार पुनरागमन गर्यो । उत्तराद्र्ध सुरु भएको नवौँ मिनेटमै इरिक गार्सियाको गोलबाट बार्सिलोनाले अन्तर कम पार्यो । छ मिनेटपछि नै डोनी ओल्मोको हेड गोलले स्कोर बराबर भयो ।

निर्धारीत समय सकिन दुई मिनेट बाँकी छँदा ब्राजिलियाली स्ट्राइकर राफिनाले गोल गरेपछि बार्सिलोना उत्कृष्ट पुनरागमनसहित फाइनल पुग्ने पक्का सरह भयो । तर ३७ वर्षीय फ्रान्सेस्को अकार्बीले इन्जुरी समयमा गोल गरी बार्सिलोनालाई अगाडी बढ्न दिएन । त्यसपछ िथप ३० मिनेटको अतिरिक्त समयमा फाटेसीले इन्टरलाई जित दिलाए ।