आर्सनललाई हराएर पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
पेरिस, वैशाख २५ गते । फ्रान्सको पेरिस सेन्ट जर्मन बिहिबार आर्सनललाई सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ ले हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । पिएसजी कूल ३–१ गोल अन्तरले अगाडि बढेको हो ।
खेलको २७ औँ मिनेटमा फाबियन रुइजले हाफ भली प्रहारमार्फत् गरेको गोलले पिएसजीले अग्रता बनाएको थियो । खेलको ७२ औँ मिनेटमा असरफ हकिमीले गोल गरेर पिएसजीको अग्रता दोब्बर पार्नुभयो । सो गोलले आर्सनलको खेलमा फर्किने सम्भावना समाप्त भएको थियो । आर्सनलका लागि बुकाया साकाले एक गोल फर्कायो । जुन सान्त्वना मात्र बन्यो ।
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो मात्र दोस्रो पटक हो । पाँच वर्षअघि पनि पिएसजी फाइनलमा पुगेर निराश बनेको थियो । अहिलेसम्म पिएसजीले च्याम्पियन्स लिग जित्न सकेको छैन । पिएसजीले अब मे ३१ ताखिरमा म्युनिखमा इटालीको इन्टर मिलानसँग खेल्नेछ । इन्टर मिलानले सेमिफाइनलमा बार्सिलोनालाई कूल ७–६ गोल अन्तरले हराएको हो ।
एपी