आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो

लन्डन, २९ वैशाख । इङगलिस प्रिमियर लिगमा आइतबार राति आर्सनलले च्याम्पियन लिभरपुललाई २–२ ले बराबरीमा रोकेको छ ।

खेलका २१ मिनेटमै कोडी गाप्को र लुइस डियाजको गोलबाट लिभरपुलले २–० ले अग्रता बनाएको थियो । तर पछिल्ला पाँच लिग खेलमा एकमा मात्र जित हासिल गरेको आर्सनलले गाबिइल मार्टिनेली र मिकेल मेरिनोको गोलबाट शानदार पुरागमन गर्यो । गत हप्ता च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मनसँग निराश बनेको आर्सनल प्रिमियर लिगमा दोस्रो स्थानमा छ । यद्यपि उसको अर्को सत्रमा च्याम्पियन्स लिग स्थान पक्का छैन ।

अन्य खेलमा न्युक्यासलले चेल्सीलाई २–० ले हरायो भने म्यान्चेस्टर सिटीलाई अन्तिम स्थानमा रहेको साउथाम्पटनले गोलरहित बराबरीमा रोक्यो । नटिङघम फरेस्टले पनि रेलिगेशनमा परिसकेको लेस्टरसँग २–२ ले बराबरीमा खेल्यो । युरोपा लिगको उपाधि भिडन्तमा पुग्ने दुई क्लब म्यान्चेस्टर युनाइटेड र टोटनहाम घरेलु मैदानमा क्रमशः वेस्ट हाम र क्रिस्टल प्यालेससँग समान २–० गोल अन्तरले पराजित भयो । एपी