वाणिज्य बैंकहरुद्वारा जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले बढाए, कुनले घटाए?
काठमाडौं, ३१ वेशाख । देशका वाणिज्य बैंकहरुले जेठ महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। बुधबार सार्वजनिक गरिएको यो नयाँ ब्याजदर जेठ १ गतेदेखि नै कार्यान्वयनमा आउनेछ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको नयाँ दर अनुसार, मुद्दती निक्षेपमा व्यक्तिगततर्फको औसत ब्याजदर ५.९५ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपकर्ताका लागि औसत ब्याजदर ४.३९ प्रतिशत कायम भएको छ।
अधिकांश बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। १४ वटा वाणिज्य बैंकले वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि यथावत राखेका छन्।
तर, तीनवटा बैंकले भने आफ्नो ब्याजदर घटाउने निर्णय गरेका छन्। ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।
यसैगरी, तीन वाणिज्य बैंकले भने जेठ महिनाका लागि आफ्नो ब्याजदरमा वृद्धि गरेका छन्। ब्याजदर बढाउने बैंकहरुमा एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंक छन्।