मखनको आगलागी घटनाको छानविन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं, ४ बैशाख । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यहि बैशाख ३१ गते काठमाडौं महानगरपालिकाको वडा–२४ मखनटोलमा भएको आगलागीको विषयमा प्रभावकारी छानविन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निर्देशन दिनुभएको छ ।

उहाँले गुरागाईँलाई प्रभावकारी छानविन समिति बनाएर १० दिन भित्र रिपोर्ट बुझाउन निर्देशन दिनुभएको हो । बैशाख ३१ म्खनमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक जनाको आगलागिमै जलेर ज्यान गएको थियो । आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँचतले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगलागीको घटना लगत्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल त्यहाँ पुगी अनुगमन गर्नुभएको थियो ।

‘बैशाख ३१ मा आगलागी भएपछि म आफैँ अनुगमनमा गएर त्यहाँको बस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगालागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासाहरु पनि आएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानविन समिति बनाएर त्यो समितिलाई १० दिनको म्याद भित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’

उपप्रमुख डंगोलले के–के कमजोरी भए, के–के गल्ती भए सबै कुराको गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्न निर्देशन दिएको पनि उल्लेख गर्नुभयो । ‘मैले रिपोर्ट तयार गर्दा सरोकारवाला निकाय (एम्बुलेन्स, दमकल, स्थानीय, जनप्रतिनिधि) सबैसँग गहिरो छलफल गर्न गरेर अथार्थ रिपोर्ट दिनु भनेको छु,’ उहाँले भन्नुभयो, ‘रिपोर्ट तयार गर्दा पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था के र कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान दिनु भनेको छु ।’

त्यो दिन दमकलमा पानी नभएको, बाटोमा निर्माण सामाग्रीले अवरोध गरेका कारण समयमा दमकल पुग्न नसकेको जस्ता गुनासाहरु पनि आएको भन्दै ती सबै कुरालाई ध्यानमा राखेर छानविन गर्न स्पष्ट निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । ‘हामीले अनुगमनको कामलाई तिव्रता दिदैँ आएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यो दिन आगलागी हुँदा भौतिक संरचनामा मात्रै क्षति भएको छैन त्यहाँ मानवीय क्षति पनि भएको छ । त्यो गम्भीर कुरा हो । यस्ता कुरामा कमजोरी कस्को भयो ? र किन भयो भनेर हामीले छानविन समिति नै बनाएर त्यसको रिपोर्टका आधारमा के गर्ने भन्ने तयारीसहित अघि बढ्ने तयारी गरेका हौँ । यस्ले आगामी दिनमा कतै लापरबाही भएको रहेछ भन्ने कहाँबाट र कस्बाट भयो भनेर पत्ता लगाउन सहज हुनेछ ।’