युरोपेली सङ्घको उच्चस्तरीय कूटनीतिक टोली काठमाडौंमा

काठमाडौँ, ६ जेठ। युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको समग्र अवस्थाबारे जानकारी गराउन र सहयोगका सम्भावित क्षेत्र पहिल्याउन नयाँदिल्लीस्थित २१ राजदूत तथा प्रतिनिधि सम्मिलित उच्चस्तरीय कूटनीतिक टोली काठमाडौं आइपुगेको छ।

यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको यो तीनदिने भ्रमणमा इयुका आवासीय राजदूत एवं प्रतिनिधि पनि सहभागी छन्। टोलीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक अवस्था, जलवायु परिवर्तनका असर, हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासका बारेमा जानकारी लिनेछ।

भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालको आन्तरिक तथा विदेश नीतिबारे छलफल गर्नेछ। साथै, नागरिक समाज, निजी क्षेत्र र सञ्चारकर्मीसँग पनि छुट्टाछुट्टै अन्तरक्रिया गर्ने कार्यक्रम छ।

यसका अतिरिक्त, टोलीले नेपाल विद्युत् प्राधिकरणको अवलोकन गरी गतिविधिका बारेमा जानकारी लिने तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको पनि भ्रमण गर्ने प्रतिनिधिमण्डलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमणले नेपालको विकासका प्राथमिकता बुझ्न र सहयोगका क्षेत्रहरू पहिचान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *