ग्रान्डमास्टर महर्जन र पदक विजेता आदिस सम्मानित

काठमाडौँ, ११ जेठ । सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले आइतबार ग्रान्डमास्टर दिवाकर महर्जन र अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता अदिश खड्कालाई सम्मान गरेको छ ।

करीब तीन दशक अमेरिकालाई कर्मथलो बनाएर पनि नेपाली तेक्वान्दो खेलको प्रवद्र्धन र विकासमा निरन्तर योगदान दिएको कदरस्वरुप ग्रान्डमास्टर महर्जनलाई सम्मान गरिएको हो । ग्रान्डमास्टर महर्जनले अमेरिकाको पोर्टल्यान्डमा ३० वर्षअघि आफूले स्थापना गरेको युएसडब्ल्यूसी तेक्वान्दो एसोसिएसन– हलिउडमार्फत् तेक्वान्दो खेलाडी उत्पादन गरिरहनुभएको छ ।

ग्रान्डमास्टर महर्जन अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) का परिकल्पनाकार पनि हुनुहुन्छ । आइओएफटिसी प्र्रत्येक दुई वर्ष फरकफरक देशमा आयोजना हुने गर्दछ । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । १५ औँ आइओएफटिसी नेपालमा आयोजना गर्न तयारीको सिलसिालमा ग्रान्डमास्टर महर्जन नेपाल आउनुभएको हो ।

यसैगरी नेपाली तेक्वान्दो खेलाडी अदिशले गत वैशाखमा दुई अन्तर्राष्ट्रिय पदक जित्नुभएको थियो । अदिशले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय प्रतियोगतामा १७ वर्ष मुनि इन्डिभिजुयल पुम्सेमा स्वर्ण र जापानको ओासाकामा भएको जापान वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजत पदक जित्नुभएको हो ।