संसदको गतिरोध अन्त्य गर्न सभामुखको सक्रियता, कार्यव्यवस्था र सचेतकहरूसँग बेग्लाबेग्लै बैठक

काठमाडौं, १६ जेठ । प्रतिनिधिसभामा जारी अवरोध हटाउने र बजेटमाथिको छलफल अघि बढाउने उद्देश्यले सभामुख देवराज घिमिरेले आज महत्त्वपूर्ण बैठकहरू आह्वान गर्नुभएको छ ।

सभामुख घिमिरेले पहिलो चरणमा बिहान ११ बजे विभिन्न दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ । त्यसलगत्तै, मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

सभामुखको सचिवालयका अनुसार, यी बैठकहरूको मुख्य एजेण्डा संसदमा देखिएको गतिरोध अन्त्य गर्ने र सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि आवश्यक कार्यतालिका निर्धारण गर्नु रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दलहरूले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै आएका छन् । यही माग राखेर उनीहरूले संसद बैठक अवरुद्ध गर्दै आएका हुन् ।

बजेट प्रस्तुतिका लागि जेठ १५ गते अवरोध नगरेका विपक्षी दलहरूले आज देखि पुनः संसद अवरोधको कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन् । यही पृष्ठभूमिमा सभामुख घिमिरेले संसदको अवरोध हटाएर नियमित प्रक्रिया अघि बढाउन पहल थाल्नुभएको जनाइएकाे छ ।