शेयर बजारमा पुनः गिरावट, नेप्से परिसूचक ११ अंकभन्दा बढीले ओरालो
काठमाडौँ, २१ जेठ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पुनः दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा खुम्चिएको हो।
नेप्सेका अनुसार, आज बजारमा तीन सय १३ वटा विभिन्न कम्पनीहरूको सक्रिय कारोबार भएको थियो। दिनभरिमा कुल एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको छ।
क्षेत्रगत रूपमा हेर्दा, आज म्युचुअल फन्ड र व्यापार समूहका उपसूचकहरूमा मात्रै हरियाली छायो भने बाँकी सबै समूहका उपसूचकहरू राताम्मे देखिए। आजको बजारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले लगानीकर्तालाई केही राहत दियो। यद्यपि, सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रह्यो, जसको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्या दुवैका आधारमा आज अरुण काबेली पावर लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।