च्याङ्ग्राको भुवाको बजार सुनिश्चित, मुस्ताङका किसानलाई अतिरिक्त आम्दानीको बाटो खुल्यो

मुस्ताङ, २२ जेठ। हिमाली च्याङ्ग्राको बहुमूल्य भुवाले बजार पाएपछि मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, फल्याकका किसानहरूले अतिरिक्त आम्दानी गर्न थालेका छन्।

परम्परागत रूपमा प्राङ्गारिक मल र मासुका लागि पालिँदै आएका च्याङ्ग्राको शरीरबाट खेर गइरहेको भुवाले अब आर्थिक महत्व पाएको हो।
फल्याकका अगुवा किसान राजु गुरुङका अनुसार, पहिले बजारको अनिश्चितता, किसानलाई फुर्सद नहुनु र भुवा निकाल्ने दक्ष जनशक्तिको अभावमा च्याङ्ग्राको भुवा त्यसै खेर जाने गर्दथ्यो। “शरीरबाटै झरेर खेर जाने भुवालाई अहिले पश्मिना व्यवसायीले बजार सुनिश्चित गरिदिएका छन्,” उहाँले भन्नुभयो, “उनीहरूले भुवा निकाल्न दक्ष जनशक्ति समेत उपलब्ध गराएपछि हामीले आजैदेखि भुवा निकाल्न थालेका छौँ।”

नेपाल पश्मिना उद्योग सङ्घ अन्तर्गत काठमाडौँमा सञ्चालित फाइवर प्रोसेसिङ प्रालिले फल्याकलगायत मुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भुवाको बजार सुनिश्चित गरेको हो। वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने उपयुक्त समय मानिन्छ। च्याङ्ग्राको भुवा पश्मिना उत्पादनका लागि ‘क’ श्रेणीको उत्कृष्ट कच्चापदार्थ हो र यसलाई भेडा तथा चौंरीको भुवाभन्दा गुणस्तरीय मानिन्छ। डेढ वर्षअघि मुस्ताङबाट सङ्कलन गरिएको च्याङ्ग्राको भुवाको नमूना मङ्गोलियाको प्रयोगशालामा परीक्षण गर्दा पश्मिनाका लागि अत्यन्त उपयुक्त रहेको प्रमाणित भएको सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार, फल्याक गाउँका करिब ६० घरपरिवारमध्ये १९ घरले व्यावसायिक रूपमै च्याङ्ग्रा पालन गरेका छन् भने अन्यले पनि थोरै सङ्ख्यामा पालेका छन्। सोही वडामा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेको र यस वर्ष करिब दश किलोग्राम भुवा सङ्कलन हुने अनुमान गरिएको जानकारी दिनुभयो। किसानहरूले प्रतिकिलो रु. ४,५०० का दरले पश्मिना उद्योगीलाई भुवा बिक्री गर्नेछन्।

मुस्ताङ र डोल्पाको छार्काका किसानहरूले वि.सं. २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भुवा बिक्री गरिसकेका छन्। पश्मिना व्यवसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन केन्द्र र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तुमध्ये एक पश्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरी बनाइएको धागो कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ। सङ्घका अनुसार, नेपालबाट वार्षिक करिब रु. ६ अर्बको पश्मिना निर्यात हुने गरेको छ भने वार्षिक रु. ५ अर्ब बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुने गरेको छ। ठमेल, भक्तपुर, पाटन, सौराहा, पोखरा, नगरकोट जस्ता पर्यटकीय स्थलमा आउने पर्यटकले मात्रै वार्षिक रु. १ अर्ब ५० करोड बराबरको पश्मिना खरिद गर्ने गरेका छन्।

मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइसिटी) का परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो। आइसिटीको सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुणस्तरीय भुवा उत्पादन र सङ्कलनसम्बन्धी प्राविधिक सीप सिकाउन थालेको छ। यसअन्तर्गत बाह्य परजीवीको आक्रमणबाट जोगाउन, शरीरमा भएको भुवालाई कीटाणुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुवा निकाल्नुअघि ‘डिपिङ ट्याङ्की’मा च्याङ्ग्राको शरीर डुबाउने सीपसम्बन्धी स्थलगत तालिम सुरु गरिएको छ।

अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाबाट पश्मिनाका लागि उपयुक्त र गुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भुवाको दिगोपना र गुणस्तरमा ह्रास आउन नदिन किसानलाई सीप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिइएको परामर्शदाता श्रेष्ठले जानकारी दिनुभयो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार, जिल्लामा करिब ५२ हजार च्याङ्ग्रा पालिएकोमा हालसम्म करिब ३० प्रतिशत च्याङ्ग्राबाट मात्र भुवा निकाल्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *