त्रिशूली–३ ‘ए’ को सुरुङबाट ९ दिनपछि थप एक जनाको जीवितै उद्धार, आज मात्रै दुई जना निकालिए

काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको ९ दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार दिउँसो उद्धार टोलीले सुरुङभित्रैबाट अर्का एक व्यक्तिलाई सकुशल बाहिर निकालेको हो।

खोजी तथा उद्धार कार्यमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार आज दिउँसो दोस्रो व्यक्तिको सफल उद्धार गरिएको हो। यसअघि आजै बिहान सञ्जय शाहलाई सुरुङबाट जीवितै उद्धार गरिएको थियो। योसँगै ९ दिनदेखि सुरुङभित्र थुनिएकामध्ये दुई जनालाई सकुशल बाहिर निकाल्न सफलता मिलेको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङको मुख थुनेको लेदो र ढुङ्गा पन्छाउँदै भित्र पस्ने प्रयास गरिरहेको थियो। आज बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको सङ्केत पाएपछि उद्धार टोलीले विशेष सावधानीका साथ खोजीलाई तीव्र बनाएको थियो। इन्जिनियर श्रीराम न्यौपानेले भित्रबाट आवाज आएको र उद्धार टोलीले भित्र रहेकाहरूसँग सञ्चार स्थापित गरेको जानकारी दिनुभएको थियो।

लामो समयदेखि अक्सिजन र खाद्यान्नको अभावमा सुरुङभित्र थुनिएका व्यक्तिहरू ९ दिनपछि पनि जीवितै भेटिनुलाई उद्धारकर्मीहरूले ठुलो सफलता र चामत्कारिक घटनाका रूपमा लिएका छन्। सुरुङभित्र अझै अन्य कर्मचारी तथा प्राविधिकहरू फसेको आशङ्का रहेकाले सुरक्षा निकायको टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ