पार्टीमाथिको चौतर्फी आक्रमणलाई सत्य तथ्यले प्रतिवाद गर्न महासचिव पोखरेलको निर्देशन

भक्तपुर, २२ जेठ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको भए तापनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउनुभएको छ। उहाँले यस्ता आक्रमणहरूको सत्यतथ्यमा आधारित सूचना प्रवाह गरी सशक्त जवाफ दिनुपर्नेमा जोड दिनुभयो।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले आज भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र सरकारप्रति नियोजित रूपमा गलत सूचना सम्प्रेषण भइरहेको आरोप लगाउनुभयो।

“अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ। सरकारको नेतृत्व र नेताहरूमाथि निरन्तर प्रहार भइरहेको छ। यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ,” महासचिव पोखरेलले भन्नुभयो।

उहाँले मुलुकको समृद्धि, विकास र सुशासन कायम गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गर्दै एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्भावना भएका १० मुलुकमध्ये नेपाल पहिलो नम्बरमा रहेको दाबी गर्नुभयो। ‘मिसन ८४’ लाई सफल पार्न पार्टीले गरेका प्रभावकारी कामहरूलाई आम नागरिकसम्म पुर्‍याउने गरी प्रचार संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नागरिकको बदलिँदो सोच र धारणाअनुसार सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सामाजिक सञ्जाल, अनलाइन र मल्टीमिडियाको प्रभावकारी प्रयोग गर्दै सत्य तथ्य जनतामाझ लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।

बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामालगायतले ‘मिसन ०८४’ लाई सफल पार्न र पार्टी नेतृत्व तथा सरकारमाथि भएका गलत प्रचारविरुद्ध सामाजिक सञ्जाल र समाचारमार्फत सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो।

दुईदिने कार्यशालाको पहिलो दिन आज पार्टी नेता विष्णु रिजालले ‘पार्टी प्रचार र प्रविधि’, मातृका पौडेलले ‘नेपाली मिडिया र एजेण्डा सेटिङ’, तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘माक्र्सवाद र समाजवाद’ बारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ। दोस्रो दिन नेताहरु राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली र भक्तकुमारी लामाले विभिन्न विषयमा प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *