जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण गरिने

तनहुँ जलविद्युत् आयोजना

काठमाडौँ, कार्तिक ५ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । पुल पुनर्निर्माणका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार पुल पुनर्निर्माणका लागि करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँमा सम्झौता भएको हो। जलाशय निर्माणका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन वैकल्पिक स्थानमा पुल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी पुल निर्माणको प्रक्रिया अघि बढाइएको भण्डारीले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको आयोजनाले जनाएको छ। जलाशयका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या हुन नदिन पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो।

नयाँ पुल निर्माण भएपछि स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै विभिन्न सेवा तथा सुविधामा पहुँच कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *