पोर्चुगल नेसन्स लिग च्याम्पियन
म्युनिख, २६ जेठ । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सोमबार स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराएर नेसन्स लिगको उपाधि जितेको छ ।
पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले अल्भारो मोराटाले प्रहार गरेको चौथो पेनाल्टी जोगाएपछि पोर्चुगल च्याम्पियन बन्यो । निर्धारीत र अतिरिक्त समयको खेल २–२ ले बराबरीमा सकिएको थियो ।
पोर्चुगललाई च्याम्पियन बनाउन रोनाल्डोको पनि महत्वपूर्ण भूमिका रह्यो । खेलको ६१ औँ मिनेटमा रोनाल्डोकै गोलले खेल २–२ ले बराबर भएको थियो । रोनाल्डोको यो कीर्तिमान १३८औँ गोल भएको छ ।
यसअघि, खेलको २१ औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलबाट स्पेनले अग्रता बनाएको थियो । लामिने यमालको क्रसमा जुबिमेन्डीले गोल गरेका हुन् । तर पाँच मिनेटपछि नै पोर्चुगलका २२ वर्षीय नुनो मेन्डिसले बराबरी गोल गरे । उनी खेलपछि म्यान अफ दि म्याच पनि बने । रोनाल्डोले पनि मेन्डिसकै क्रसमा गोल गरेका थिए । खेलको ४५ औँ मिनेटमा मिकेल आयरजाबालले गोल गरेपछि स्पेन २–१ को अग्रतासहित मध्यान्तरमा गएको थियो ।
फ्रान्स तेस्रो
किलियन एमबापेको गोलको सहयोगमा फ्रान्सले आयोजक जर्मनीलाई २–० ले हराएर तेस्रो स्थान हािसल गर्यो । फ्रान्सका लागि एमबापे र ओलिसले गोल गरे । जर्मनीविरुद्ध गोल गरेर एमबापेले आफ्नो ५० औँ अन्तर्राष्ट्रिय गोल पनि गरेका छन् । एजेन्सी
तस्बिर साभारः एपी