घट्यो महँगी दर, तर गैर-खाद्य वस्तुको मूल्यवृद्धि कायमै

काठमाडौं, २७ जेठ । देशको समग्र उपभोक्ता मूल्यवृद्धि दरमा उल्लेख्य कमी आएको छ, तर खाद्य र गैर-खाद्य वस्तुको मूल्य प्रवृत्तिमा भने भिन्नता देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांकअनुसार, वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर २.७७ प्रतिशतमा झरेको छ, जुन गत वर्षको सोही अवधिमा ४.४० प्रतिशत थियो।

मूल्यवृद्धि घट्नुको मुख्य कारण खाद्य तथा पेय पदार्थ समूहको मूल्यमा आएको भारी गिरावट हो। गत वर्ष ६.४१ प्रतिशत रहेको यो समूहको मूल्यवृद्धि यस वर्ष १.५२ प्रतिशतमा सीमित भएको छ। विशेषगरी, तरकारीको मूल्य ८.११ प्रतिशतले घट्दा समग्र महँगी नियन्त्रणमा सहयोग पुगेको हो।

यद्यपि, आम उपभोक्ताले पूर्ण राहत महसुस गर्न सकेका छैनन्, किनकि गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने गत वर्षको ३.०९ प्रतिशतबाट बढेर ३.४५ प्रतिशत पुगेको छ। यसअन्तर्गत शिक्षा, लत्ताकपडा, जुत्ताचप्पल र अन्य विविध सेवाहरूको मूल्य बढेको छ।

तथ्यांकले शहरी क्षेत्र (२.६१%) को तुलनामा ग्रामीण क्षेत्रमा (३.२१%) महँगीको चाप बढी रहेको देखाउँछ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ४.२९ प्रतिशत र लुम्बिनी प्रदेशमा सबैभन्दा कम २.१५ प्रतिशत मूल्यवृद्धि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *