अनेरास्ववियु महाधिवेशन: अध्यक्षमा कडरिया र पौडेलबिच प्रतिस्पर्धा, आज मतदान हुँदै
काठमाडौँ, २८ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । कीर्तिपुरमा जारी २४औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षका उम्मेदवार डा. कडरियाको प्यानलबाट महासचिवमा दीपक धामीले उम्मेदवारी दिनुभएको छ । महासचिव पदमा धामीसँगै आरके रोमस र सुनिल कँडेल पनि प्रतिस्पर्धामा छन् ।
यस्तै, उपाध्यक्ष पदका लागि पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । खुला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बम प्रतिस्पर्धामा छन् भने महिला उपाध्यक्षतर्फ अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँले उम्मेदवारी दिनुभएको छ ।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीबिच प्रतिस्पर्धा हुने भएको छ । सचिव पदमा भने मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका छन् ।
यसअघि, एमाले नेतृत्वको निर्देशनअनुसार अध्यक्ष मण्डलले सर्वसम्मतिको प्रयास गर्दै अध्यक्षमा डा. कडरियाको नाम प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै अर्का आकांक्षी पौडेल र धामी लगायतका नेताहरूले चुनावको माग गरेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।