अनेरास्ववियुमा नेतृत्वका लागि मतदान, कडरिया र पौडेलबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं, २९ जेठ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

नेतृत्व चयनमा सहमति जुटाउन पटक-पटक प्रयास गरिए पनि सफल हुन सकेन । निर्वाचन समितिले तेस्रो पटकसम्म निर्वाचन तालिका संशोधन गरे पनि उम्मेदवारहरूबीच सहमति नजुटेपछि अन्ततः मतदानबाटै नेतृत्व टुंगो लगाउन लागिएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।

निर्वाचनका लागि ४० भन्दा बढी विद्युतीय मतदान मेसिन (EVM) प्रयोग गरिनेछ । महाधिवेशनमा सहभागी १,५०० भन्दा बढी प्रतिनिधिले मतदान गरी नयाँ कार्यसमिति चयन गर्नेछन् ।

अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेलबीच मुख्य प्रतिस्पर्धा छ । दुवै उम्मेदवारले आ-आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् ।

अन्य प्रमुख पदहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको छ: खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही प्रतिस्पर्धामा छन् त्यस्तै महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई प्रतिस्पर्धामा छन् ।

त्यस्तै महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल प्रतिस्पर्धामा छन् । उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी र प्रेमिका शाही प्रतिस्पर्धामा छन् । सचिवमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।