झापामा चट्याङ लागेर २ जना घाइते, दुईवटा गाई मरे

झापा, २९ जेठ । झापामा बुधबार साँझ हावाहुरी र पानीसँगै परेको चट्याङले दुई जना घाइते भएका छन्भने चट्याङले दुईवटा गाई मरेका छन् ।

बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नाका ६० वर्षीय पुण्य पौडेल र शिवसताक्षी नगरपालिका–७ टेक्राका ४४ वर्षीया डम्बरकुमारी भुजेल चट्याङ घाइते भएको झापा प्रहरीले जनाएको छ।

गाईगोठमा काम गरिरहेका पौडेललाई चट्याङ लागेकाे हो। उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ भने चट्याङले उनकाे एउटा गाई मरेको छ ।

चट्याङले आफ्नै घरभित्र रहेका भुजेल घाइते भएको हो । भुजेलको स्थानीय मेडिकलमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेको छ ।

चट्याङले उनको गोठमा बाँधिराखेको एउटा गाई मरेको छ । घरभित्र रहेकोले भुजेलको ज्यान बचेको प्रहरीले जनाएको छ ।