सवारी दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ, कार्तिक, २६ । कैलालीको धनगढी उपमहानगरपालिका १५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर बुधबार साँझ एकापसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका ५ तारानगरकी ३५ वर्षीया सुशीला बम गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी १४ का २६ वर्षीय प्रवीण चौधरी, उहाँकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन् ।
त्यसैगरी, स्कुटरमा सवार धनगढी ५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
