त्रिदेशीय टी२० क्रिकेट शृङखला

ऐतिहासिक खेलमा तीन पटक सुपर ओभर खेलेपछि नेदरल्यान्ड्ससँग नेपालको हार

काठमाडौँ, २ असार । स्कटल्यान्डमा ग्लास्गोमा भइरहेको त्रिदेशीय टी२० क्रिकेट शृङखलाअन्तर्गत  नेदरल्यान्ड्सले  नेपाललाई सुपर ओभरमा हराएको छ । निर्धारत २०–२० ओभरमा दुवै टिमले समान १५२ रन बनाएपछि खेल ‘टाइ’ भएको थियो । यी दुई टिमबिच जितहारको छिनोफानो तेस्रो पटकको सुपर ओभरमा भएको हो । अन्तर्राष्ट्रिय टि २०मा तेस्रो सुपर ओभरमा जितहारको निर्णय भएको यो पहिलो पटक हो ।

पहिलो सुपर ओभर

पहिलो सुपर ओभरमा नेपालले पहिले ब्याटिङ गरि १९ रन बनाएको थियो । सो सुपर ओभरमा कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ गर्न क्रिजमा आएका थिए । नेदरल्यान्ड्सले जवाफमा करण केसीले फालेको सुपर अ‍ोभरमा १९ रन नै बनायो । नेदरल्यान्ड्सका लागि माइकल लेभिट र म्याक्स ओ डाउडले ब्याटिङ गरेका थिए ।

दोस्रो सुपर ओभर

त्यसपछि दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले एक विकेटको क्षतिमा १७ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि नेपालका लागि दोस्रो सुपर ओभरमा स्पीनर ललित राजवशीले बलिङ गरेका थिए । नेपालका रोहित र दिपेन्द्र सिंह ऐरीले काइल क्लाइनको बलिङमा १७ रननै बनायो । जसले तेस्रो सुपर ओभरमा जित हारको छिनोफानो हुने भयो ।

तेस्रो सुपर ओभर

तेस्रो सुपर ओभरमा नेपालले एक रन पनि बनाउन सकेन । रोहितले पहिलो बलमै आफ्नो विकेट गुमाए । ज्याक लियोन काचेटले रोहितलाई आउट गरेका हुन् । त्यसपछि दिपेन्द्रलाई साथ दिन रुपेश सिंह क्रिजमा आएका थिए । रुपेशले दोस्रो र तेस्रो बल डट खेले । त्यसपछि काचेटले चौथो बलमा रुपेशलाई बोल्ड गरेपछि नेदरल्यान्ड्सले खेल जित्न एक रन मात्र आवश्यक भयो । सुपर ओभरमा दुई ब्याट्सम्यान आउट भएपछि पालि सकिने प्रावधान रहेको छ । सन्दीप लामिछानेले फालेको पहिलो बलमै लेभिटले छक्का प्रहार गरेर नेदरल्यान्ड्सलाई जित दिलाए ।

सन्दीप र रोहित चम्किए

यसअघि टस हारेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । नेपालका लागि सन्दीपले सर्वाधिक तीन विकेट लिए । यसैगर नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट लिए । नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए ।

नेपालले जवाफमा आठ विकेटको क्षतिमा १५२ रननै बनायो र खेल सुपर ओभरमा गयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाएका थिए । भुर्तेलले पनि २३ बलमा ३४ रनको महत्वपूर्ण पालि खेलेका थिए ।

रुपेश र किरणको पदार्पण

नेदरल्यान्ड्विरुद्ध खेलेर सोमबार नेपालका रुपेश सिंह र किरण ठगुन्नाले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका छन् । नेपालले मङगलबार घरेलु टिम स्कटल्यान्डविरुद्ध खेल्नेछ ।