नेपाली कांग्रेसद्वारा रास्वपा सांसदलाई सदनबाट निष्कासन गर्न माग

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसदीय मर्यादा उल्लङ्घन गर्दै ‘अभद्र व्यवहार’ देखाएको भन्दै उनीहरूलाई बैठकबाट निष्कासन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा सांसदहरूको व्यवहार र पोसाकप्रति गम्भीर आपत्ति जनाउनुभयो। उहाँले केही सांसद मर्यादित पोसाकमा उपस्थित नभएको र ‘स्कार्फ’ लगाएर आएको भन्दै प्रश्न गरे, “भोलि कोही हाफ पाइन्ट लगाएर आए संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने?”

घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम ३० र ३१ उल्लेख गर्दै अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने र बैठकबाट निष्कासनसमेत गर्न सक्ने व्यवस्था रहेको स्मरण गराए। “सभामुख महोदय! यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्न आवश्यक छ,” उनले भने।

यता, रास्वपाका सांसदहरूले मानव बेचबिखनविरुद्धको विश्वव्यापी अभियानको प्रतीकका रूपमा ‘नीलो रिबन’ लगाएर सदनमा उपस्थित भएका थिए। कांग्रेसले ‘स्कार्फ’ भनेर आपत्ति जनाएको सोही नीलो रिबन थियो।

घिमिरेले बोलिरहँदा रास्वपाका सांसदहरूले ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै ‘वेल’ घेराउ गरेर निरन्तर नाराबाजी गरिरहेका थिए।