राष्ट्रिय सभालाई मैले एउटा विश्वविद्यालयको रूपमा लिएको छुः भगवती न्यौपाने
भगवती न्यौपाने जो विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट अगाडि बढ्नुभयो र कुनै समय तनहुँ जिल्लाको नेकपा (एमाले) को पार्टी सचिवको समेत जिम्मेवारी सम्हालेर काम गर्नुभयो । अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहनुभएकी न्यौपाने राष्ट्रिय सभाको मुख्य सचेतकको समेत जिम्मेवारीमा हुनुहुन्छ। उहाँसँग आज मैत्रिन्युजले राजनीतिसँग सम्बन्धित भएर कुराकानी गरेको छ । त्यो सँगसँगै राष्ट्रिय सभाका काम कारबाही लगायतका विषयसँग पनि केन्द्रित भएर कुराकानी गरेका छौँ
उहाँसँगको कुराकानीको केही संक्षेप पनि यहाँ प्रस्तुत गरेका छौँ ।
आज तपाईँसँग यहाँ कुराकानी गर्दै गर्दा पनि तपाईँहरू राष्ट्रिय सभाकै बैठकमा हुनुहुन्थ्यो। त्यताबाट सिधै यहाँ आउनु भएको छ । राष्ट्रिय सभाको गतिविधि कसरी अगाडि बढिरहेको छ ?
खासगरी राष्ट्रिय सभालाई परिपक्व सभा भनेर चिनिन्छ । त्यसले गर्दाखेरि राष्ट्रिय सभा कानुन बनाउने कुरामा अलि बढी घोत्लिने गर्छ । अलि बढी जिम्मेवार हुने गर्दछ। त्यसैले हामी चाहिँ नीति निर्माण गर्ने, कानुन कसरी बनाउने, देश र जनताको पक्षमा, जनताको हितमा भन्ने विषयमा अलि बढी छलफलमा केन्द्रित हुन्छौँ । त्यसैले अहिले पनि हामी विधेयकहरू माथि नै छलफल गरिराखेका छौँ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा अलिक फरक छ । प्रतिनिधि सभामा जनताबाट निर्वाचित भएर आउनु भएका सांसदहरु भएकाले उहाँहरु अलिक बढी निर्वाचन क्षेत्रमा बढी केन्द्रित र सक्रिय हुनुहुन्छ भने हामीचाँहि संविधानले जे खालको व्यवस्था गरेको छ, जुन भूमिका हामीलाई दिएको छ, त्यो भूमिका अनुसार पनि राष्ट्रिय सभा भनेको विधि निर्माण, नीति निर्माण, कानुन निर्माणमा अलि बढी केन्द्रित हुनुपर्ने संविधानको मर्म अनुसार नै हामी त्यसमा बढी केन्द्रित हुन्छौँ ।
राष्ट्रिय सभा भनेपछि माथिल्लो सभा पनि भयो । यहाँ नीति निर्माण गर्ने थलो पनि हो ।
राष्ट्रिय सभा भन्ने बित्तिकै मानसपटलमा पनि के आउँछ भने अलिकति बुढापाकाहरु अनुभवले खारिएकाहरू हुन्छन् भन्ने मान्यता छ । तर, अहिले ऊर्जाले भरिएका युवाहरू, शिक्षितहरुको पनि राष्ट्रिय सभामा प्रतिनिधित्व हुने गरेको छ । त्यति मात्रै होइन समावेशी कारणले गर्दा पनि सबै क्षेत्र, वर्ग, समुदायलाई समेट्नु पर्ने हुन्छ । त्यसैले त्यहाँ सबै खालको प्रतिनिधित्व पनि हुन्छ । अहिले तपाईँको पार्टीको नेतृत्वको सरकार छ । तपाईँ एउटा मुख्य सचेतक पनि भएको हिसाबले एक खालको नेतृत्वदायी भूमिकामा पनि तपाईँ हुनुहुन्छ । राष्ट्रिय सभा कस्तो ढंगले अगाडि बढिरहेको छ होला जस्तो लाग्छ तपाईँको अनुभवमा ?
राष्ट्रिय सभा अलिक पाका मान्छेहरूको सभा हो भनेर बाहिर प्रचार जसरी गरिएको हुन्छ, त्यो किन पनि भयो होला भने राष्ट्रिय सभा परिपक्व सभा हो भन्ने मान्यता भएकाले गर्दा त्यो माथिल्लो सदन हो भनेर पनि भनिएको हुनसक्छ । त्यसलाई विधि बनाउने, नीति बनाउने भएको हुनाले त्यहाँ चाहिँ पाका मान्छेहरू जानुपर्छ भनेर त्यसमा एउटा उमेर हद पनि छ ।
जसरी प्रतिनिधि सभामा २५ वर्ष भएपछि सदस्य बन्न उसको योग्यता पुग्छ भने राष्ट्रिय सभामा चाहिँ ३५ वर्षको उमेर चाहिन्छ । त्यसले गर्दा १० वर्षको उमेर यसै पनि फरक छ । त्यसले अलि पाको मान्छे, अलि अनुभवको हिसाबले धेरै अनुभव संकलन गरेको, विभिन्न सेक्टरमा बसेर लामो यात्रा गरेको, अनुभवले खारिएको त्यस्ता खालका व्यक्तिहरूको सभा हो भन्ने मान्यता स्थापित भएको हुनाले त्यसलाई परिपक्वहरूको सभा भनेर भनिएको हो । अहिले राष्ट्रिय सभामा ४० वर्षभित्रका युवाहरू पनि हुनुहुन्छ । ४० र ५० वर्षभित्रका पनि हुनुहुन्छ । ५० भन्दा माथिका पनि हुनुहुन्छ । समग्रमा राष्ट्रिय सभा मिश्रित खालको छ । ३५ भन्दा अलिकति माथिदेखि पाको उमेर समूहका व्यक्तिहरू त्यहाँ हुनुहुन्छ । जो उमेरले अलि पाको हुनुहुन्छ ।
त्यति मात्रै होइन उहाँहरू राजनीतिक अनुभवले पनि अनुभवी हुनुहुन्छ । विभिन्न क्षेत्रका अनुभवीहरू पनि हुनुहुन्छ, विज्ञहरू पनि हुनुहुन्छ । प्रतिनिधि सभाले विधि निर्माण गर्ने सन्दर्भमा, कानुन निर्माण गर्ने सन्दर्भमा केही कमजोरी गर्यो भने त्यसलाई सच्याउने काम पनि राष्ट्रिय सभाले गर्ने हो भन्ने संविधानको उदेश्य पनि हो । त्यसैले राष्ट्रिय सभाको बनावटलाई हेर्दाखेरि त्यस्तै खालका व्यक्तित्व र भूमिकामा रहेका व्यक्तिहरू हुनुहुन्छ ।
यद्यपि, बाहिर विभिन्न खालका टीका टिप्पणी हुन्छ । प्रचार गर्ने मिडियाकर्मीहरूले पनि कम्तीमा राष्ट्रिय सभालाई बुझ्ने कोसिस गर्दिए हुन्थ्यो भन्ने मलाई लाग्छ । राष्ट्रिय सभाको भूमिकाहरूलाई बुझ्ने कोसिस गर्दिए हुन्थ्यो भन्ने पनि मलाई लाग्छ । प्रतिनिधि सभामा जसरी विधि निर्माण गर्ने, नीति निर्माण गर्ने, कानुन बनाउँदाखेरि पनि विधेयकहरूमाथि जसरी छलफल गरिन्छ त्यसले पनि राष्ट्रिय सभाको गरिमालाई बढाएको छ भन्ने लाग्छ । सैद्धान्तिक पक्ष, त्यसको दफावार छलफलको विषयमा विज्ञहरूसँग बस्ने, सरोकारवालाहरूसँग बस्ने धेरै पटक छलफल गर्ने र अलि धेरै सक्रिय हुने काम पनि राष्ट्रिय सभामा हुँदो रहेछ भन्ने अनुभव म स्वयंले पनि गरेकी छु ।
राष्ट्रिय सभामा हामी जसरी खटिराखेका छौँ, प्रतिनिधि सभामा त्यसरी खटिँदैन भन्ने अनुभवहरू पहिला प्रतिनिधि सभामा रहनु भएका माननीयहरुले पनि सुनाउने गर्नुहुन्छ । त्यसैले राष्ट्रिय सभालाई बुझ्ने कोसिस गर्नुपर्छ । हामीले संविधान त बनायौँ । संविधान अनुसार बन्न बाँकी भएका कानुन सबै बनायौँ कि बनाएनौँ भनेर त्यो अध्ययन गर्ने काम पनि राष्ट्रिय सभाले नै गरेको छ । संविधान अुनसार बन्न बाँकी भएका कानुनहरू कतिवटा रहेछन् भन्ने कुरा पनि हामीले अध्ययन गरेर एउटा निष्कर्ष निकाल्यौँ । त्यस्तै मौलिक हकलाई कार्यान्वयन गर्नका निम्ति बन्न बाँकी भएका कानुनहरू कति रहेछन् भन्ने कुरा पनि हामीले राष्ट्रिय सभाबाटै अध्ययन गर्यौँ ।
संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा संघीयताका विरुद्ध जसरी एउटा जबरजस्ती प्रचार गर्ने गरिएको छ र जबरजस्ती संघीयता बेठीक छ भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो उचित होइन । वास्तवमा संघीयता आफैँमा सैद्धान्तिक रूपमा बेठीक होइन । त्यसैका लागि हामीले कार्यान्वयनमा जहाँ–जहाँ समस्या छ, त्यो समस्या भएको ठाउँमा यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भनेर सबै प्रदेशमै पुगेर, प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुखहरूसँग समेत बसेर छलफल गर्दै आएका छौँ । त्यो छलफलले कहाँ–कहाँ के–केमा समस्या रहेछ, संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा कहाँ कमजोरी रहेछ भन्ने कुराको खोजी पनि गरेको छ । यी विविध कारणले पनि राष्ट्रिय सभा आफ्नो जिम्मेवारीमा एकदमै बढी सक्रिय छ भन्ने मात्रै देखाउँदैन राष्ट्रिय सभाले साँच्चै भन्ने हो भने आफ्नो औचित्य पुष्टि गरेको छ भन्ने प्रमाणित पनि गरिदिन्छ ।
सम्बन्धित व्यक्तिहरूलाई बोलाएर गहिरो छलफल गर्ने जस्ता भूमिकाहरु हेर्दा राष्ट्रिय सभा साँच्चिकै माथिल्लो सभा नै हो र यो अनुभवीहरूको सभा हो भन्ने खालको अवस्था पनि देखिन्छ। तपाईँ त लामो समयदेखि जिम्मेवारीमा पनि हुुनुहुन्छ । अनुभव कस्तो गर्नुभएको छ ?
म राष्ट्रिय सभाको सदस्य भएको पाँच वर्षभन्दा बढी भयो । मैले जसरी राष्ट्रिय सभालाई यो पाँच वर्षमा नजिकबाट बुझ्ने मौका पाएँ । बाहिरबाट हेर्दाखेरिको राष्ट्रिय सभा मैले जसरी बुझिराखेकी थिए । यहाँ आइसकेपछि धेरै खालको अनुभव प्राप्त गरेँ । मैले एउटा विश्वविद्यालयको रूपमा पनि यसलाई लिएको छु । यहाँ आएपछि मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ । मैले विश्वविद्यालयमा सिक्ने धेरै कुरा राष्ट्रिय सभाबाट सिकेँ । मैले यहाँ आएपछि पहिलो कुरा विधि बनाउने र अर्को जनताको आवाजलाई बुलन्द बनाउँने दुबै पाटोलाई समान ढंगले अगाडि बढाउनुपर्छ भनेर त्यहि ढंगले प्रस्तुत गराउँदै आएको छु ।
अहिले म सत्ता पक्षको मुख्य सचेतकको रूपमा जिम्मेवारी बहन गरिरहेको छु । त्यसैले मैले एकातिर माननीयज्यूहरूसँग समन्वय गर्ने, सहकार्य गर्ने, सबैको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्ने सन्दर्भमा छलफल गर्ने जिम्मेवारीसहित काम गरिरहेकी छु भने अर्कोतर्फ सिंगो राष्ट्रिय सभालाई नै प्रभावकारी बनाउन सबै माननीयज्यूहरूसँग कसरी समन्वय गर्ने, कसरी सहकार्य गर्ने, हाम्रा एजेन्डाहरूलाई कसरी स्थापित गर्ने, खासगरी कानुन निर्माण गर्ने सन्दर्भमा आएका विधेयकहरूलाई कसरी जनताको हितमा कानुन निर्माण गर्ने, त्यो सन्दर्भमा अलि बढी छलफल कसरी जस्ता कुरालाई पनि मनन गरेर अघि बढेकी छु । समग्रमा राष्ट्रिय सभाको गरिमालाई बढाउनका निम्ति, राष्ट्रिय सभाको उचाइलाई अझ धेरै उचाइमा पुर्याउनका निम्ति हाम्रो तर्फबाट र व्यक्तिगत तर्फबाट सक्दो योगदान गर्नुपर्छ भनेर लागेको छु । यी सबै पक्षलाई हेर्ने हो भने आजका दिनसम्म म सन्तुष्ट छु । मेरो आफ्नो भूमिकाप्रति मैले जे खेल्नुपर्ने हो त्यसमा खुशी छु, सन्तुष्ट छु ।
तपाईँहरूले सातै वटा प्रदेशमा प्रदेशका माननीयहरू सहितको उपस्थितिमा त्यहाँका स्थानीय तह र प्रदेशसँग एक खालको मन्वय गरेर बैठकहरू पनि राखेर त्यहाँका गुनासाहरू, त्यहाँका सुझावहरू लिने अभियान चलाउनुभयो । यो एउटा साँच्चिकै भन्ने हो भने राष्ट्रिय सभाको नयाँ प्रयोग पनि होला जस्तो लाग्छ मलाई । त्यो कत्तिको प्रभावकारी भयो ?
हाम्रा मतदाता को–हुन भन्दा हामीलाई निर्वाचित गर्ने प्रदेश सभाका सांसदहरू हुन् । स्थानीय तहका प्रमुख, उपप्रमुखहरू हुन् । त्यसैले हाम्रा मतदाताहरूले हामीप्रति गरेको अपेक्षा के हो त ? भनेर बुझ्ने एउटा प्रयास हो भने दोस्रो भनेको चाहिँ संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा तीन तहका बिचका समन्वय कसरी गर्नुपर्छ ?
मुख्य गरेर संविधानले व्यवस्था गरेका एकल अधिकार, साझा अधिकार जे छन् ती प्रयोगमा जाँदा तीन तहबिच समन्वयमा समस्या छन् कि छैनन् ? समन्वय कसरी गरि राखिएको छ भन्ने लगायतका सन्दर्भमा हामीले केही सुझावहरू लिनुपर्ने थियो । आफ्ना मतदाताहरूसँग बसेर सुझाव लिनुपर्छ भन्ने सोचेर नियमावलीमा नै हामीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग बसेर छलफल गर्ने कुरालाई व्यवस्थित गरेका थियौँ । धेरै पटकको प्रयास पछि, धेरै पटकको छलफलपछि अहिले समय जुर्यो र सातै प्रदेशमा एकैचोटि हामी पुग्यौँ । सातै प्रदेशबाट सबै सांसदहरू परिचालित भयौँ ।आफू जहाँबाट निर्वाचित भएका थियौँ, त्यहीँ त्यहीँ पुग्ने र जो मनोनीतहरू हुनुहुन्थ्यो, उहाँहरूले आफूले रोजेको ठाउँमा जाने भनेर हामी सबै परिचालित भयौँ । त्यसरी जाने क्रममा हामीले धेरै महत्वपूर्ण सुझावहरू प्राप्त गर्न सफल भयौँ । हाम्रा निम्ति महत्वपूर्ण सुझावहरु प्राप्त भए ।
त्यसलाई हामीले राष्ट्रिय सभामा पनि फेरि छलफल गर्ने तयारी गरेका छौँ । अहिले सबै प्रदेशबाट प्रतिवेदन आएका छन् र माननीयज्यूहरूले आफ्नो–आफ्नो प्रदेशको प्रतिवेदनलाई निष्कर्षका रूपमा निकाल्ने काम पनि गरिसक्नुभएको छ । प्रशासनिक संघीयताका बारेमा, वित्तीय संघीयताको बारेमा त्यहाँ कुरा उठेका छन् । साझा अधिकारका सवालमा, एकल अधिकारका सवालमा, संघले–स्थानीय तहले बनाउनुपर्ने कानुनहरू जे–जे छन् । ती कानुन बाझिने सवालमा बाझिनु भएन भन्ने जस्ता सुझाव पनि आएका छन् । त्यति मात्रै होइन एउटाले अर्कोमा हस्तक्षेप गर्नु भएन भन्ने खालका सुझावहरु पनि आएका छन् ।
स्थानीइ तह जनतासँग सबैभन्दा सामिप्य रहेको सरकार हो। जनतासँगको सानिध्य स्थानीय तहसँग अलि बढी नै हुन्छ । त्यसले गर्दा स्थानीय तहलाई अलि बढी समानीकरण अनुदान भए हुन्थ्यो भन्ने खालका सुझावहरू पनि उहाँहरूले हामीलाई दिनुभएको छ । उहाँहरुले दिनुभएका सुझावहरू हामी छलफल गर्छौँ र सभाबाट एक ढंगले पारित पनि गर्छौँ । यसले आगामी दिनमा संविधानको कार्यान्वयनको पक्ष, संघीयतालाई प्रभावकारी बनाउने पक्षलगायतमा महत्ववपूर्ण योगदान पुर्याउँछ भन्ने हामीलाई लागेको छ । उहाँहरु पनि धेरै खुसी हुनुभयो। जसलाई मतदान गरेर हामीले राष्ट्रिय सभामा पुर्याएका थियौँ । तपाईँहरु आइदिनुभयो, हाम्रा कुरा सुन्नुभयो, हाम्रा गुनासाहरू सुन्नुभयो । हामीले हाम्रा सुझावहरू राख्न पायौँ। त्यसैले हामी धेरै नै आभारी छौँ भनेर उहाँहरूले पनि एकदम खुसीसाथ हामीसँग आफ्ना कुराहरू आदन–प्रदान गर्नुभयो। हामीले पनि धेरै महत्त्वपूर्ण सुझावहरु पायौँ । ती सुझावलाई हामी छलफल गर्छौ र सभाबाट पारित पनि गर्छौ ।
यसले एकातिर संविधानको कार्यान्वयनको पक्ष र अर्को संघीयतालाई प्रभावकारी बनाउने कुरामा ठूलो योगदान पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ ।
उहाँहरु पनि हाम्रा गुनासाहरु राख्न पायौँ भनेर सुनाउन पायौँ भनेर खुशी हुनुभएको छ ।
राष्ट्रिय सभालाई प्रतिनिधि सभालाई अलिक ओझेल पारेको भन्ने पनि भनाई छ । यस्लाई कसरी लिनुहुन्छ ?
आफ्नो ठाउँमा प्रतिनिधि सभाको महत्व छ । राष्ट्रिय सभाको महत्व अझ फरक खालको छ । राष्ट्रिय सभामा विधि र कानुनका विषयमा गहिरो छलफल हुन्छ । दुबै सभाको आ–आफ्नो ठाउँमा महत्व छ । तर, राष्ट्रिय सभा केही पनि होइन भन्ने ढंगले बुझ्न खोज्नेहरुलाई गहिरो गरी बुझिदिनुहोस् भन्ने आग्रह छ । प्रतिनिधि सभाबाट आएका कतिपय कुराहरुलाई राष्ट्रिय सभाले सच्याएको हुन्छ ।
विधेयककै सन्दर्भमा कुरा गर्ने हो भने पनि प्रतिनिधि सभाबाट पारित भएर आएका कतिपय कुरा सैद्धान्तिक र दफावार चरणमा छलफल गरेर धेरै सच्याएर पास गरेका हुन्छौँ । त्यो कुरालाई बुझिदिनु पर्यो भन्ने लाग्छ ।
यद्यपि, अझै प्रभावकारी बनाउने, यसको औचित्य साच्चै रहेछ भन्ने बनाउने, यसको गरिमालाई थप उच्चो बनाउने सन्दर्भमा विज्ञहरुका सुझाव लिनेलगायतका विषयमा भने अझै गहन भएर अघि बढ्नुपर्छ भन्ने लाग्छ ।
विद्यार्थी पृष्ठभूमिबाट उठेर सिंहदरबारसम्म आउनुभयो । यो संघर्षको कथा कस्तो छ ?
म पार्टीको तत्लो कमिटीबाट उठेर केन्द्रसम्म आएँ । विद्यार्थी राजनीतिमा पनि विद्यालयको प्रारम्भिक कमिटी, क्याम्पस, जिल्ला कमिटी हुँदै त्यहाँबाट उठेर केन्द्रसम्म आएँ । यसरी म विद्यार्थी, पार्टी र महिला आन्दोलसँग जोडिएर यहाँसम्म आएँ ।
म संसदीय मोर्चामाचाँहि विभिन्न परिस्थितिले पहिलो पटक राष्ट्रिय सभामा अर्थात परिपक्क सभामा आएँ । त्यसैले मैले मेरो जीवनका सबै कालखण्डहरुमा फर्किएर हेर्दा ती दिन मैले पार गरेर आएँ है भन्दा मलाई खुशी लाग्छ, गर्व लाग्छ ।
हो, हाम्रा अग्रजहरुले हाम्रा भन्दा कठिन समय पनि पार गरेर आउनु भएको छ । तर, मैले पनि जुन कहिले खाएर, कहिले भोकै बसेर पनि ती कठिन दिनहरु पार गरेर आएको छु । ती दिन सम्झिदा मलाई अहिले गौरव लाग्छ । ती क्षणहरु आफ्ना लागि पटक्कै थिएनन् । मेरा हातमा सुनका डल्ला फलाऔँ, व्यक्तिगत रुपमा केही लाभ लिऔँ भन्ने पनि मेरो कुनै सपना थिएन । मैले देखेको सपना भनेको समाजमा भएका विभेद थिए ती विभेदको अन्त्य गर्ने भन्ने थियो ।
थप केही भन्नुपर्ने छ ?
सबैलाई एउटा अनुरोध यो देश हामी सबैको हो । हामी आस्थाका हिसाबले फरक–फरक होलाऔँ । बहुदलीय प्रणालीमा यो स्वाभाविक पनि छ । तर, हामी सबैले देश हाम्रो हो भन्ने बुझ्नुपर्छ । त्यसैले यो देशलाई कस्तो बनाउने भन्ने कुरामा सबै जिम्मेवार बनौँ। यो मेरो सबैप्रतिको अनुरोध हुन्छ । अहिले एउटाले काम गर्न खोज्यो भने खुट्टा तान्ने प्रवृत्ति छ । सरकारले गरेका कामहरू पनि राम्रो कामलाई राम्रो भन्न नसक्ने अवस्था छ । अहिले जुन खालको परिस्थिति बन्दै छ, त्यसलाई हामीले अन्त्य गरौँ सबैले हाम्रो देश राम्रो बनाउने कोसिस गरौँ । यो कुरा चाहिँ मैले आम रूपमा तपाईँकै मिडियामार्फत अनुरोध गर्छु ।