धरौटीमा छुटेलगत्तै अमला रोका सम्पत्ति शुद्धीकरणको अभियोगमा पुनः पक्राउ
काठमाडौं, ९ असार। चर्चित ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका धरौटीमा रिहा भएको केहीबेरमै पुनः पक्राउ परेकी छिन् ।
काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई २ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । सोही आदेशअनुसार धरौटी रकम बुझाएर अदालत परिसरबाट बाहिर निस्कनासाथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार, रोकालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा पक्राउ गरिएको हो । “विभागबाट अनुसन्धानका लागि पत्र आएकाले हामीले उहाँलाई नियन्त्रणमा लिएर विभागको जिम्मा लगाएका छौँ,” प्रवक्ता खड्काले जानकारी दिए ।
यसअघि सीआईबीले सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा रोकालाई गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरी अदालतमा पेस गरेको थियो ।