नेपालको लगातार दोस्रो जितमा शुभम नायक
काठमाडौँ, १० असार । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले मङगलबार जापानलाई एकपक्षीय खेलमा नौ विकेटले पराजित गर्यो । नेपालले पहिलो खेलमा सिङगापुरलाई पनि सजिलै छ विकेटले हराएको थियो ।
मलेसियाको क्वालालम्बपुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा भएको खेलमा नेपालले ८१ रनको सामान्य लक्ष्य एक विकेटको क्षतिमा १४.२ ओभरमै हासिल गरेको हो । शिवांश बजगाई ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा बनाएर अन्तिम समयमा क्रिजमा टिके । शिवांशले ४२ बलको सामना गरी साता चौका प्रसिद्धले ३३ बलमा तीन चौका प्रहार गरे । शिवांस र प्रसिद्ध मिलेर दोस्रो विकेटका लागि ७६ रनको अविजित साझेदारी गरेका थिए ।
नेपालले जवापफमा जोय थापालाई तेस्रो ओभरमै गुमाएको थियो । जोयलाई जापानका बलर केइसी कोब्यासी डोगेटले क्याच आउट गराएका थिए ।
यसअघि, टस जितेर पहिले ब्याटङ गर्ने जापानको निर्णय गलत बन्यो । बायाँ हाते स्पीनर शुभम खनालले पाँच विकेट लिएपछि जापान ३४.३ ओभरमा ८० रनमै अलआउट भएको थियो । जापानका कप्तान चार्ली हाराहिन्जले ४८ बलको सामना गरी चार चौकासहित सर्वाधिक ३६ रन बनाए । दोहोरो स्कोरमा रन बनाउने अर्का ब्याट्सम्यान गाबी हाराहिन्ज (१३) थिए ।
हाराहिन्ज जोडीले छैटौँ विकेटका लागि २९ रनको साझेदारी गरेका थिए । कप्तान चार्ली आउट हुँदा जापानको स्थिति ७१ रनमा पाँच विकेट थियो । त्यसपछि जापानले लगातार पाँच विकेट गुमायो ।
शुभमले दस ओभरमा मात्र १५ रन खर्चेर पाँच ब्याट्सम्यानलाई आउट गरेका हुन् । यसैगरी अभय यादवले र्दुइ तथा सुशील रावल र विपिन शर्माले एक–एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जितपछि दुई खेलमा ४ अंक जोडेर नेपाल समूह ए को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको जापान २ खेलबाट २ अंकसहित दोस्रोमा छ । नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ । समूह ए मा भुटान पनि रहेको छ ।