उपनिर्वाचनका मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह
काठमाडौँ, १२ असार । निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका पदहरूमा छिट्टै उपनिर्वाचन हुने भएकाे जनाउँदै मतदाता नामावलीमा नाम छुट भएका नागरिकहरूलाई छिटो दर्ता गराउन आग्रह गरेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै निकट भविष्यमा उपनिर्वाचनको मिति घोषणा हुने भएकाले समयमै नाम दर्ता गर्न अनुरोध गरेको हो।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा ‘निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने कानुनी प्रावधान उल्लेख गरिएको छ। त्यसअनुसार निर्वाचनको मिति घोषणा भएसँगै नाम दर्ता प्रक्रिया रोकिने आयोगले स्पष्ट पारेको छ।
विज्ञप्तिमा आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचनको मिति घोषणा हुनुअघि नाम दर्ता गरेमा मात्र आगामी निर्वाचनमा मतदानको अधिकार प्राप्त हुने भएकाले यस अवसरलाई गम्भीरताका साथ लिन अनुरोध गरिएको छ।
निर्वाचन आयोगले आफ्ना सम्पूर्ण सेवाग्राहीहरूलाई नजिकको निर्वाचन कार्यालय वा स्थानीय तहमा रहेका मतदाता नामावली दर्ता केन्द्रमा गई आवश्यक कागजातसहित नाम दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेको छ।