किशोरी बलात्कार गरेकाे आरोपमा वाइसिएल नेता चौरजहारी इन्चार्ज रेशम खत्री पक्राउ

रुकुम पश्चिम, १३ असार। एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का नेता पक्राउ परेका छन्।

वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर इन्चार्ज ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश विष्टका अनुसार, जाजरकोटकी १७ वर्षीया पीडितले क्षेत्रीविरुद्ध करिब दुई महिनाअघि जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरीमा क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको र सोही घटनाबाट छोरी जन्मिएको उल्लेख छ।

पीडितले दिएको बयानअनुसार, गर्भवती भएपछि क्षेत्रीले गर्भपतन गराउन निरन्तर दबाब दिएका थिए। आफूले गर्भपतन गर्न अस्वीकार गरेपछि र छोरीको जन्म भएपछि क्षेत्रीले सम्पूर्ण खर्च व्यहोर्ने आश्वासन दिँदै मुद्दा मामिलामा नगर्न चेतावनी दिएको पनि आरोप छ। उनले आफ्नो राजनीतिक पहुँचका आधारमा सजिलै उम्किने भन्दै धम्की दिने गरेको पीडितको भनाइ छ।

जाहेरी दर्ता भएदेखि नै क्षेत्री फरार थिए। प्रहरीले उनको खोजी गरिरहेकोमा बिहीबार राति सानोभेरी गाउँपालिकाको एक होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरिएको डीएसपी विष्टले जानकारी दिए।

पक्राउ परेका क्षेत्री वाइसिएलको राजनीतिसँगै चौरजहारी नगर खेलकुद विकास समितिको अध्यक्षसमेत हुन्। उनी जिल्ला तथा प्रदेश स्तरका राजनीतिक र खेलकुद कार्यक्रममा सक्रिय रहँदै आएका थिए। प्रहरीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरेको छ।