मेसीको मियामीलाई हराएर पिएसजी क्वाटरफाइनलमा
एटलान्टा (अमेरिका), १६ असार । च्याम्पियन्स लग विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) सोमबार लियोनेल मेसीको टिम इन्टर मियामीलाई ४–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
मर्सिडिज बेञ्च रङगशलामा ६५,५७४ दर्शकको उपस्थितिमा भएको सो खेलमा पिएसजीका लागि जोआओ नेभेसले दुई गोल गर्नुभयो । खेलको छैटौँ मिनेटमा नेभेसले हेडमार्फत् गोलको खाता खोलेका थिए । पोर्चुगलका मिडफिल्डर नेभेसले खेलको ३९ औँ मिनेटमा अर्को गोल थपे । पूर्वार्ध सकिन एक मिनेट बाँकी छँदा मियामीका अभिलाइजले आत्मघाती गोल गरेपछि पिएसजीको जित लगभग पक्का भयो । त्यसपछि खेलको इन्जुरी समयमा असरफी हकिमीले पनि गोल गरे ।
पिएसजीमा दुई वर्ष बिताएका मेसी पूर्वार्धमा निकै कम मात्र बल पाए । खेलको ६३ औँ मिनेटमा बल्ल उनले गोलपोस्टमा लक्ष्यित गरेर प्रहार गरेका थिए । यद्यपि सो प्रयासलाई पिएसजीका गोलरक्षक गियान्लुगी डोनारुमाले सहजै जोगाए ।
तस्बिर साभारः एपी