हेलमेटभित्र लुकाएर स्रोत नखुलेको रकम ल्याउँदै गर्दा राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

रौतहट, १९ असार । सशस्त्र प्रहरीले रौतहटको गौरबाट स्रोत नखुलेको साढे दुई लाख रुपैयाँसहित राष्ट्रिय अनुसन्धान विभागका एक पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो भारतबाट नेपाल आउँदै गरेका जितेन्द्र राउतलाई गौर भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल, नम्बर ११ गणका अनुसार, भारतबाट बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका राउतलाई गौर भन्सार रोडमा चेकजाँच गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो । उनले चलाखीपूर्वक रकमलाई आफूले लगाएको हेलमेटभित्र लुकाएर ल्याएका थिए ।

पक्राउ परेका राउतलाई बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।