नेपालमा लगानीका लागि मलेसियालाई अर्थमन्त्री पौडेलको आह्वान, पूर्ण सहजीकरणको प्रतिबद्धता
काठमाडौँ, २० असार । सरकारले मलेसियाली लगानीकर्तालाई नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न औपचारिक रूपमा आह्वान गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको र सरकारले लगानीकर्तालाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभयो । “नेपालमा निजी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण छ, हाम्रा नीतिहरू लगानीमैत्री छन्,” उहाँले भन्नुभयो, “लगानीका क्षेत्र पहिचान गरी ढुक्क भएर अघि बढ्नुहोस्, सरकार सहजीकरण गर्न तयार छ ।”
सो अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालप्रति सकारात्मक चासो देखाएका थिए । उनीहरूले विशेषगरी सूचना प्रविधि, जलविद्युत्, व्यापार, पूर्वाधार विकास, वातावरण संरक्षण र पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।
भेटमा सहभागी प्रतिनिधिमण्डलको नेतृत्व परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजाले गर्नुभएको थियो भने टोलीमा डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राह लगायतका व्यवसायीहरू सहभागी थिए ।