भोटेकोशी बाढी: उद्धारमा खटिएका ३ प्रहरी र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा, २४ असार । चीनतर्फको भूभागमा परेको अविरल वर्षापछि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ।
बाढीमा परी उद्धारमा खटिएका तीन प्रहरी र ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार बाढीमा परेर इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन्। उनीहरूका साथै ९ जना अन्य नेपाली र ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।
आज बिहान करिब ३ बजे चीनतर्फको केरुङ क्षेत्रमा भारी वर्षा भएपछि भोटेकोशीमा बाढी आएको हो।
बाढीले बिहान करिब ४ बजे नेपाल र चीन जोड्ने रसुवागढी नाकाको मितेरी पुल पूर्णरुपमा बगाएको छ। पुल बगाएसँगै नाकामा सवारी साधन र मानिसको आवतजावत पूर्ण रूपमा बन्द भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ।
यसैगरी, बाढीले गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेस्थित विद्युतीय सवारी चार्जिङ स्टेसन, ७-८ वटा विद्युतीय गाडी, भन्सार यार्ड र रसुवागढी हाइड्रोपावरको बाँधमा समेत क्षति पुर्याएको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।