११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो, श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढ्यो

काठमाडौँ, २४ असार। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) प्राप्त गरेको छ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो रकम गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो।

गत वर्षको यही अवधिमा विप्रेषण १७.२ प्रतिशतले बढेको थियो। जेठ महिनामा मात्रै रु. १ खर्ब ७६ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ।

अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको राष्ट्र बैङ्कले जनाएको छ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो
राष्ट्र बैङ्कको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पनि बढेको देखाएको छ। समीक्षा अवधिमा ४ लाख ५२ हजार ३२४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यी दुवै सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *