अनुमानका भरमा सरकारबारे टिप्पणी नगर्न गृहमन्त्रीको आग्रह
काठमाडौँ, २५ असार । गृहमन्त्री रमेश लेखकले अनुमान र कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले पर्याप्त जानकारीबिना सरकारका बारेमा टीकाटिप्पणी गर्न नहुनेमा जोड दिनुभयो ।
गृहमन्त्रीले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा उहाँसँगै प्रतिनिधिमण्डलमा जाने व्यक्तिका बारेमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै जान्छन्, प्रधानमन्त्रीसँगै भ्रमणमा जानुभएकामध्ये कोको फर्केर आउनुभएन उहाँहरूको नाम सार्वजनिक गरिदिनुभयो भने सरकारलाई सजिलो हुने थियो, त्यसकारण प्रधानमन्त्रीको स्पेन भ्रमणका बारेका गलत प्रचार भएको छ ।”
उहाँले कुनै पनि विषयमा संसद् वा संसद् बाहिर प्रश्न उठाउँदै गर्दा त्यसबारे पर्याप्त जानकारी लिएर मात्रै उठान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निलम्बित सांसद रवि लामिछानेले कुनै समय अमेरिका भिजिट भिसामा जानुभएको थियो रे भन्ने सुनेको छु, भिजिट भिसामा जाने भनेको भिजिटर नै हो, मलाई जानकारी छ, उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ?”