स्पेन प्रकरण’ छानबिन गर्न सीआईबीले बनायो समिति, नेतृत्वमा एसएसपी बोगटी

काठमाडौं, ३१ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘स्पेन प्रकरण’ छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ।

संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा सहभागी हुन नक्कली कागजात प्रयोग गरी नेपालीहरूलाई स्पेन पठाइएको घटनाको अनुसन्धान गर्न सीआईबीले एसएसपी होबिन्द्र बोगटीको संयोजकत्वमा समिति बनाएको हो।

हालै स्पेनको सेभियामा सम्पन्न ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो। यही कार्यक्रमको आवरणमा मानव तस्कर समूहले नक्कली कागजात बनाएर नेपालीलाई स्पेन पुर्‍याएको आरोप लागेको छ।

संसद्मा समेत यो विषय उठेपछि घटना सार्वजनिक भएको थियो। पछि, स्पेन पुगेकाहरू सरकारी टोलीका नभई विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिको रूपमा गएको खुलेको थियो।
नवगठित समितिले सम्मेलनको समयमा नेपालबाट स्पेन गएकाहरूको विवरण, उनीहरूको फिर्ती अवस्था र घटनामा संलग्न मानव तस्कर गिरोहबारे विस्तृत अनुसन्धान गर्नेछ।

सीआईबीका अनुसार, एसएसपी बोगटीको संयोजकत्वमा गठित समितिमा ६ सदस्य रहेका छन्।
यसअघि गृहमन्त्री रमेस लेखकले अध्यागमन विभागका महानिर्देशक र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी घटनाको गहिरो छानबिन गर्न निर्देशन दिनुभएको थियो। सोही निर्देशनअनुसार सीआईबीले मंगलबार समिति गठन गरी अनुसन्धान अघि बढाएको हो।