टीयू मैदान स्तरोन्नतिमा ढिलाइ: काम नसक्ने ठेकेदारलाई दैनिक दुई लाखभन्दा बढी जरिवाना

काठमाडौं, ३२ असार । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति र फ्लडलाइट जडानको काम समयमा नसक्ने ठेकेदार कम्पनीमाथि सरकारले कारबाही सुरु गरेको छ।

तोकिएको समयसीमाभित्र काम सम्पन्न नभएपछि सम्झौताअनुसार निर्माण कम्पनीलाई दैनिक दुई लाख रुपैयाँभन्दा बढी हर्जना लगाइएको हो।

सहरी विकास मन्त्रालयका अनुसार, सम्झौतामा आयोजनाको कूल लागतको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्ने प्रावधान छ, जुन रकम दुई लाख रुपैयाँभन्दा बढी हुन आउँछ।

मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले गत फागुनमा दुईवटा कम्पनीसँग सम्झौता गरेको थियो । प्यारापिट निर्माण: बिकेओआई केसिडिसी बिजी जेभी (लागत: रु ४९ करोड २५ लाख) र फ्लडलाइट जडान: विशन ईश्वरी जेभी (लागत: रु ४७ करोड ३७ लाख) रहेकाे छ ।

कार्यालय प्रमुख चक्रवर्ती कंठका अनुसार, असार ३० गतेको समयसीमा सकिएपछि मंगलबारदेखि हर्जना लागु भएको हो। निर्माण कम्पनीले हर्जना तिरेर बढीमा २०० दिनसम्म काम गर्न पाउनेछ।
हर्जनाको कूल रकम आयोजना लागतको १० प्रतिशतभन्दा बढी हुन पाउने छैन।
सो अवधिमा पनि काम नसकिएमा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही अगाडि बढाइनेछ।

निर्माण कम्पनीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ। हालसम्मको प्रगति विवरण यस्तो छ: प्यारापिट: ७७% भौतिक प्रगति, ४ हजार कुर्सी जडान भइसकेको।
फ्लडलाइट: ४५% भौतिक प्रगति, ६ मध्ये ३ वटा पोल आइपुगेको।
ठेकेदार कम्पनीले अब दैनिक जरिवाना तिर्दै बाँकी काम सम्पन्न गर्नुपर्नेछ।