नेपाल प्रहरीका २० डीएसपीको सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए
काठमाडौं, १ साउन । नेपाल प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गरेको निर्णयअनुसार चार जिल्लाले नयाँ प्रहरी प्रमुख पाएका छन्।
सरुवा सूचीअनुसार, जिल्ला प्रहरी कार्यालय भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओम प्रकाश खनाल र बझाङमा खगेन्द्र धमलालाई पठाइएको छ। भोजपुरका डीएसपी युवराज तिमल्सिनालाई सशस्त्र प्रहरी गण नम्बर–१, नक्सालमा सरुवा गरिएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय पथरी (मोरङ) मा तुल्सीराम अर्याल, वडा प्रहरी कार्यालय बैदाम (कास्की) मा नवराज भट्टराई र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा रुपा लावुङलाई जिम्मेवारी दिइएको छ। सिंहदरबार सुरक्षा गणमा सिद्धराज न्यौपाने र पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा कृष्ण ओझाको सरुवा भएको छ।