बाढीले तमोर नदीमाथिको बेलिब्रिज बगायो, अरुण नदी किनारमा सतर्क रहन आग्रह
काठमाडौँ, ७ साउन । अविरल वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरूमा बाढीपहिरोको जोखिम बढेको छ। ताप्लेजुङमा बाढीले तमोर नदीमाथिको बेलिब्रिज बगाएको छ भने सङ्खुवासभामा अरुण नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ लाई जोड्ने तमोर नदीमाथिको बेलिब्रिज बाढीले बगाएको छ। हेल्लोक र सिम्बुवा खोलामा आएको बाढीले तमोर नदीको बहाव बढाउँदा उक्त पुल बगाएको स्थानीयले जानकारी दिएका छन्।
रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको यो पुल बगेसँगै त्यस क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षा भइरहेकाले अरुण नदी र अन्य खोलानालाको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलका अनुसार, मकालु गाउँपालिकाको नुम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले अरुण नदीमा पानीको बहाव बढ्न सक्ने र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सूचित गरिएको हो।