टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी, ११ साउन । हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो ।

बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए । बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो ।