विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा
चितवन, १२ साउन । चितवनमा पछिल्लो समय देखिएको विद्युत आपूर्ति समस्याको स्थलगत अनुगमन तथा समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य मंगलबार चितवन पुग्नुभएका छन् ।
चनौली सबस्टेसनले विद्युत कटौतीको सूचना जारी गरेपछि प्राधिकरणले लोडसेडिङ गर्न लागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। यही पृष्ठभुमिमा समस्याको यथार्थ बुझ्न र समाधानको पहल गर्न शाक्य आफैं चितवन पुग्नुभएकाे हाे ।
कार्यकारी निर्देशक शाक्यले भरतपुरको अवस्थाबारे जानकारी लिएर पूर्वी चितवनको हर्दी सबस्टेसनको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
समस्या समाधानको अन्तिम चरणमा
पूर्वी चितवनको राप्तीस्थित हर्दी सबस्टेसनमा जडान गरिएको २४ एमभीएको नयाँ ट्रान्सफर्मरको सफल परीक्षण भइसकेको प्राधिकरणले जनाएको छ। सबस्टेसनका इन्चार्ज रोशन खनियाँका अनुसार ट्रान्सफर्मर चार्ज गर्ने काम भइरहेको र अब केही प्राविधिक परीक्षणपछि लाइन सञ्चालनमा आउनेछ।
यो नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएपछि पूर्वी चितवनका अधिकांश क्षेत्रमा हर्दीबाटै विद्युत वितरण गरिनेछ, जसले भरतपुरबाट पूर्वी चितवनतर्फ जाने लाइनको लोड घटाउनेछ। रत्ननगरको टाँडी र खैरहनीको चैनपुर सबस्टेसनमा हर्दीबाट लाइन दिएपछि भरतपुरबाट पश्चिम चितवन तथा माडीमा सिधै विद्युत आपूर्ति गर्न सहज हुने खनियाँले बताए।
पछिल्लो समय गर्मीका कारण चितवनका पूर्वी तथा पश्चिमी क्षेत्र र माडीमा समेत विद्युत अनियमित हुँदा स्थानीयले सबस्टेसनहरुमा विरोध जनाउँदै आएका थिए। प्राधिकरणले मंगलबारसम्ममा चितवनमा देखिएको विद्युत आपूर्तिसम्बन्धी सम्पूर्ण समस्या समाधान हुने विश्वास दिलाएको छ।