एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने टिमको विदाइ
काठमाडौँ, १४ साउन भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको छ ।
अखिल नेपाल फुबल संघ (एन्फा) ले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गर्दै बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरे ।
एएफसी यू–२० महिला एसियन कप छनोट साउन २१ देखि २६ गतेसम्म हुँदैछ ।मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले प्रतियोगिता जित्ने लक्ष्यका साथ तयार गरेको बताए । उनले साफ च्याम्पियन्सीपमा भएको कमजोरीमा काम गरेको पनि जानकारी दिए ।
बङगलादेशमा देखिएका कमाजोरी दोहरिने छैन । चाहिने विश्रामलाई पनि ध्यानमा राखेर खेलाडीलाई मैदानमा उतार्नेछु– प्रशिक्षक गुरुङले भने । साफ च्याम्पियन्सीपमा फाइनलमा नेपाल बङगलादेशसँग ४–० ले हार्दा थकान प्रमुख कारण भएको बताइएको थियो । प्रशिक्षक गुरुङले डिफेन्समा पनि थप सुधार गरेको जानकारी दिए । कप्तान विर्सना चौधरीले प्रशिक्षण राम्रो भएको बताउँदै यो पटक उत्कृष्ट प्रदर्शन गर्ने र हरेक खेल जित्ने हिसाबमा अगाडि बढ्नेछु, भनिन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले साफ यु२० मा उत्कृष्ट प्रदर्शन गरेको र राष्ट्रिय महिला टोलीको रुपमा तयारी भएको भविष्य राम्रो भएको भनाई राखे । एन्फाको अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली महिलाको फुटबल वर्तमान र भविष्य आशा र विश्वास हो । त्यसैले महिला टोलीलाई बलियो खेलाडीले एकतावद्ध भइ खेल्न जरुरी छ , भने । एन्फाका महासचिव किरण राईले जितको सपना पूरा गर्न आग्रह गरे ।
नेपालको समूह ‘ए’ मा बलियो उत्तर कोरियासँगै आयोजक भुटान र साउदी अरब छन् । सो समूहमा रहेको मङगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । नेपालको पहिलो खेल आयोजक भुटानविरुद्ध छ ।
३२ राष्ट्रको सहभागीता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्याण्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउनेछ ।
नेपालको टोली
प्रशिक्षक ः यमप्रसाद गुरुङ
गोलकिपर ः लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
डिफेन्डर ः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
मिडफिल्डर ः कविता गुरुङ, सुसिला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार
फर्वार्ड ः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर